
न्यूयोर्क, जुन १६ — नेपाली मगर समुदायले आज अमेरिकाको न्यूयोर्कमा भव्य भूमि पूजा कार्यक्रम सम्पन्न गरेको छ। नेपालको पुर्खादेखि चलिआएको प्रकृति–पूजक परम्परालाई प्रवासमा पुनर्जीवित गर्दै मगर समुदायले यो कार्यक्रम सांस्कृतिक धरोहरको जीवित अभिव्यक्तिका रूपमा आयोजना गरेका हुन्। कार्यक्रमको सुरु नेपालको राष्ट्रिय गानबाट गरिएको थियो, जसपछिको भूमिपूजामा मगर समुदायका अग्रजहरूले धरती माताको आत्मालाई स्मरण गर्दै पूजा गरे।

परम्पराअनुसार नेपालमा सुडुङ्गुर, कुखुरा र बोका चढाउने चलन रहे पनि अमेरिकाको कानुनी र सामाजिक सन्दर्भलाई ध्यानमा राख्दै यसपटक खरबुजा (Melon)लाई सुडुङ्गुर र बोका प्रतीकस्वरूप चढाइएको थियो। आस्थालाई यथावत राख्दै नियमको पालना गरेको यो प्रयोग सहभागीहरूका लागि सन्देशमूलक र मार्मिक बन्यो।
नेपाली मगर संघ, न्यूयोर्क शाखाका अध्यक्षले भने, “यो पूजाले हामीलाई हाम्रो पुर्खाको ज्ञान, प्रकृतिप्रतिको संवेदनशीलता र सामूहिक एकताको महत्व सम्झाउँछ। नेपालमा जस्तै, यहाँ पनि प्रकृतिको सम्मान गर्दै अगाडि बढ्नुपर्छ भन्ने सन्देश दिन खोजिएको हो। पूजामा सहभागी सबै मगरहरू परम्परागत पोशाकमा सुसज्जित थिए — महिलाहरू चुवा-सुरुवाल र मगर गहना, पुरुषहरू आङ्गा र ढाका टोपीमा सजिएका थिए। राईलो, टुडुङ्ग, मादल र ढोलकको तालमा करिब एक सयभन्दा बढी सहभागीहरूले मगर नृत्य प्रस्तुत गरे। बालबालिका र युवाहरूले मगर भाषा र संस्कृतिमा आधारित नाचगान प्रस्तुत गर्दै सांस्कृतिक गर्वको झल्को दिएका थिए।

नेपाली तथा अमेरिकी झण्डाहरू सँगसँगै फहराइएको दृश्यले सांस्कृतिक सहिष्णुता र पहिचानको गर्वलाई प्रतिविम्बित गर्यो। मगर समुदायका युवाहरूले यो कार्यक्रमले उनीहरूलाई आफ्नो जरा सम्झाउने मात्र होइन, अमेरिकी समाजमा बहुसांस्कृतिक सहिष्णुताको सन्देश पुर्याउने बताउँदै कार्यक्रमप्रति उत्साह व्यक्त गरे।
यस कार्यक्रमले प्रवासी भूमिमा पनि नेपाली संस्कार ज्यूँदो रहन सक्छ भन्ने मात्र होइन, नेपालको प्रकृति–मैत्री दर्शनलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने सशक्त सन्देश दिएको छ।






