
काठमाडौं — शैक्षिक वातावरणलाई सकारात्मक र विद्यार्थीमैत्री बनाउनुपर्ने भनिए पनि कक्षा कोठामा शिक्षकहरूद्वारा प्रयोग हुने केही शब्द र व्यवहारले विद्यार्थीको मनोबल कमजोर बनाइरहेको मनोविज्ञहरूले औंल्याएका छन्।
शिक्षकले प्रयोग गर्ने ‘लद्दु’, ‘मन्द बुद्धि’, ‘नालायक’ जस्ता आलोचनात्मक शब्दले विद्यार्थीको आत्मविश्वासमा नकारात्मक असर पार्ने बालमनोचिकित्सक डा. उत्कर्ष कार्की बताउँछन्। उनका अनुसार, “शिक्षकको नियत सुधार्ने भए पनि यस्ता शब्दहरूले भावनात्मक दुर्व्यवहारको रूप लिन सक्छ।”
शिक्षकले सबैको अगाडि गरिएको तुलना र आलोचनाले बच्चामा हीनताबोध, तनाव र सिकाइप्रतिको डर बढाउने सम्भावना रहेको भन्दै उनले थपे, “पटक–पटक यस्तो व्यवहार दोहोरिएमा विद्यार्थीहरूमा विद्यालय जान मन नलाग्ने, साथीहरूसँग बोल्न हिचकिचाउने, र उदासिनता, चिन्ता, टाउको वा पेट दुख्ने जस्ता लक्षण देखिन सक्छन्, जुन गम्भीर मनोवैज्ञानिक असरको संकेत हुन सक्छ।”
यससँगै, शिक्षणमा ‘बेवास्ता’ पनि अर्को ठूलो चुनौती भएको उल्लेख गरिएको छ। स्मार्ट वा अग्रपंक्तिका विद्यार्थीहरूलाई मात्र बढी ध्यान दिँदा कमजोर वा पछाडि परेका विद्यार्थीले आफूलाई उपेक्षित महसुस गर्ने मनोवैज्ञानिकहरू बताउँछन्।
विशेषज्ञहरूका अनुसार, शिक्षकको शब्द चयन र व्यवहार संवेदनशील हुन आवश्यक छ। सकारात्मक र रचनात्मक प्रतिक्रिया, व्यक्तिगत संवाद तथा सबै विद्यार्थीप्रति समान ध्यान र सम्मानले मात्रै सिकाइ वातावरणलाई सशक्त बनाइन्छ।
शिक्षकलाई विद्यार्थीको आत्मबल घटाउने होइन, बढाउने प्रेरकको रूपमा व्यवहार गर्नुपर्नेमा जोड दिँदै डा. कार्की भन्छन्, “शिक्षकको एक वाक्यले विद्यार्थीको भविष्य बनाउने वा भत्काउने दुबै क्षमता राख्छ।”
शिक्षा क्षेत्रमा कार्यरत विज्ञहरूले शिक्षण पद्धतिमा सुधार, शिक्षकहरूको मनोसामाजिक तालिम र विद्यार्थीमैत्री व्यवहारलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएका छन्।