न्यूयोर्क, अमेरिका
कोभिड–१९ महामारीको सुरुवाती दिनदेखि नै अमेरिकी भूमिमा रहेका नेपाली विद्यार्थीहरू र आप्रवासी समुदायप्रति गहिरो मानवीय उत्तरदायित्व वहन गर्दै आएको जीपी कोइराला फाउन्डेशन अमेरिकाले आफ्नो सामाजिक सेवा अभियान अन्तर्गत ९७ औँ पटकको खाना वितरण कार्यक्रम सम्पन्न गरेको छ। फाउन्डेशनका प्रबन्ध निर्देशक (Managing Director) सोमनाथ घिमिरेको अगुवाइमा यो कार्यक्रम निरन्तरता पाउँदै आएको हो। विशेषगरी महामारीको विषम परिस्थितिमा, जब धेरै नेपाली विद्यार्थीहरू र रोजगारी गुमाएका आप्रवासीहरू आर्थिक संकटमा थिए, त्यतिबेलादेखि नै घिमिरेको नेतृत्वमा उक्त फाउन्डेशनले खाना वितरणजस्ता राहत कार्यक्रममार्फत समुदायमा एक विश्वासिलो र अभिभावकत्वपूर्ण साथ प्रदान गर्दै आएको छ।
सोमनाथ घिमिरेले परदेशमा रहेका नेपालीहरूको पीडा आत्मसात् गर्दै, कुनै राजनीतिक उद्देश्य वा प्रचारभन्दा पर रहेर साझा माया र सेवाको भावनाले यो अभियान अघि बढाउँदै आएका हुन्। खाना वितरण कार्यक्रम नियमित रूपमा सञ्चालन हुँदै आएको छ, जसबाट विशेष गरी न्यूयोर्क क्षेत्रका विद्यार्थी, साना श्रमिक, आप्रवासी, तथा संकटमा परेका नेपाली परिवारहरू लाभान्वित हुँदै आएका छन्।

फाउन्डेशनका कार्यवाहक अध्यक्ष सुवर्ण लामाका अनुसार, “हामीले यो कार्य कहिले रोक्ने छैनौं, जबसम्म हाम्रो समुदायलाई यसको खाँचो छ। हामी प्रयास गर्छौं कि नेपाली समुदाय एक आपसमा बाँधिएको, सहयोगी, र संकटमा पनि एकअर्काको साथ दिने बनोस्।” उहाँले आउँदो बुधबार पनि खाना वितरण कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभएको छ, जसका लागि तयारी भइरहको बताइएको छ।
यो अभियान कुनै औपचारिक कार्यक्रम वा फुर्सदको समय पर्खेर मात्रै नभई, नियमित जिम्मेवारीका रूपमा सञ्चालन हुँदै आएको छ। फाउन्डेशनले न कुनै ठूलो प्रचार चाहेको छ, न त पुरस्कार—उनीहरूको लक्ष्य हो संकटमा परेका नेपालीहरूलाई आधार दिनु, प्रेरणा दिनु, र मानवीयताको भावनालाई जीवित राख्नु।
जीपी कोइराला फाउन्डेशन अमेरिका विगतदेखि नै शिक्षा, स्वास्थ्य, मानव अधिकार, आपतकालीन राहत, र आप्रवासी नेपालीहरूको सशक्तिकरणका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको संस्थामध्ये एक हो। अमेरिकाजस्ता व्यस्त र प्रतिस्पर्धी जीवनशैली भएको देशमा पनि यति लामो समयसम्म निरन्तर सामाजिक सेवा अभियान चलाउनु आफैँमा प्रेरणादायक कुरा हो, जसको श्रेय सोमनाथ घिमिरेजस्ता नेतृत्वदायी व्यक्तित्वहरूलाई जान्छ।
नेपाली समुदायका धेरै सदस्यहरूले यस कार्यको खुलेर प्रशंसा गरेका छन्। न्यूयोर्कका एक नेपाली विद्यार्थीले भने, “कोभिडको बेलामा हामी अभिभावकविहीन थियौं, तर सोमनाथ सर र उहाँको टीमले हामीलाई माया मात्र दिएनन्, एक सुरक्षित साथ पनि दिए।”
यस्तो निरन्तरता, समर्पण र निष्कलंक सेवा भावले अमेरिकामा मात्र नभई सम्पूर्ण विश्वभर छरिएका नेपाली समुदायमा सकारात्मक सन्देश र एकताको भावना फैलाएको छ।
