
काठमाडौं — यातायात व्यवस्था विभागले अति आवश्यक सेवाग्राहीका लागि तीन दिनभित्रै स्मार्ट चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) उपलब्ध गराउने व्यवस्था लागू गरेको छ। विभागले नयाँ “अति आवश्यक चालक अनुमतिपत्र छपाइ निर्देशिका–२०८१” जारी गर्दै विदेश जाने, अध्ययन, स्वास्थ्य समस्या, वा अन्य विशेष कारणले तत्काल लाइसेन्स चाहिने व्यक्तिहरूलाई प्रमाणसहितको आवेदनको आधारमा तीन कार्यदिनभित्र अनुमतिपत्र वितरण गर्ने जनाएको छ।

यो सेवा हाल बागमती प्रदेशका केही कार्यालयहरूमा लागू भई सुचारु भइसकेको छ। हेटौँडा, नागार्जुन लगायतका कार्यालयहरूले बिहान ७ बजेदेखि सेवा शुरु गरी सेवाग्राहीको भीड व्यवस्थापनमा सहजता ल्याएका छन्। सेवाग्राहीहरूले नयाँ प्रणालीप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् भने नागार्जुनस्थित कार्यालयका एक सेवाग्राहीले भने, “तीन दिनभित्रै लाइसेन्स पाइने भएपछि विभागप्रति जनविश्वास बढेको छ।”
सरकारले सातै प्रदेशमा यस सेवा विस्तार गर्न लागेको छ भने तीनदेखि साढे तीन महिनाभित्र सबै ठाउँमा स्मार्ट कार्ड छपाइ गर्ने मेसिन स्थापना गरिने योजना रहेको यातायात मन्त्रालयले जनाएको छ। यसका लागि आवश्यक बजेट पनि विनियोजन भइसकेको छ।
यस नयाँ व्यवस्थाले चालक अनुमतिपत्र वितरणमा चुस्ती, पारदर्शिता र सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने दिशामा महत्वपूर्ण प्रगति हुने विश्वास व्यक्त गरिएको छ।