
काठमाडौं, असार २९
राष्ट्रिय लोकसंचारकर्मी नेपालले सामाजिक सद्भावमा असर पार्ने भन्दै तीनवटा लोकप्रिय लोकगीतहरूमाथि प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ।
संस्थाले सार्वजनिक रूपमा चर्चित बनेका गीतहरू — ‘गाई कालो’, ‘सल्ला दमारमा’ र ‘लुकी लुकी’ — लाई लक्षित गर्दै सामाजिक–सांस्कृतिक विकृति फैलाएको आरोप लगाएको हो।
‘गाई कालो’ गीतमा ध्रुव पुन र चन्द्रकुमारी शाही, ‘सल्ला दमारमा’ मा राजकुमार वली, अस्मिता थापा र लक्ष्मी थापा, र ‘लुकी लुकी’ मा रामजी खाँण तथा शान्तिश्री परियारको स्वर रहेको छ।
आइतबार अपरान्ह संस्थाका पदाधिकारीहरू साइबर ब्युरो पुगेर उक्त गीतहरू विरुद्ध औपचारिक उजुरी दर्ता गरेका हुन्। उजुरीमा कलाकार तेजेन्द्र परियार, रितु बस्नेत र निकिशा श्रेष्ठको प्रस्तुति शैलीले समेत सामाजिक सहिष्णुतामा नकारात्मक असर पार्ने दाबी गरिएको छ।
लोकसंचारकर्मी नेपालले यस्ता गीतहरूले अश्लीलता र सांस्कृतिक विचलन फैलाउने काम गरेको भन्दै नियन्त्रण गर्न आग्रह गरेको छ।

यसअघि संस्थाले गृहमन्त्री रमेश लेखकसँग भेट गरी यिनै गीतहरू रोक लगाउन माग गर्दै ज्ञापनपत्र पनि बुझाएको थियो। जवाफमा गृहमन्त्रीले साइबर ब्युरोलाई सांस्कृतिक क्षेत्रमा साइबर अपराध हेर्ने विशेष व्यक्ति (फोकल पर्सन) तोक्न निर्देशन दिएको जनाइएको छ।