
आगामी २९ जुन २०२५ आइतबार , न्युयोर्कको नेपाली समुदायको प्रमुख आकर्षणको केन्द्र ज्याक्सन हाइट्स स्थित 63-01 Roosevelt Ave, Woodside, The Palace हलमा आयोजना हुने यो कार्यक्रम नेपालको मौलिकता, विविधता र सौन्दर्यशैलीको एक अनुपम संगमका रूपमा प्रस्तुत गरिनेछ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपालका विभिन्न जातजाती, भेषभूषा, सांस्कृतिक परम्परा, लोक तथा आधुनिक पहिरनहरू, कला, हस्तकला र पर्यटकीय स्थलहरूलाई फेसन शो, प्रदर्शनी, नृत्य तथा सांगीतिक प्रस्तुतीमार्फत देखाइने छ।
कार्यक्रमका संयोजक सुर्य सिंखडाका अनुसार, यो भव्य सांस्कृतिक समारोह न्युयोर्कमा रहेका नेपाली समुदायको एकताबद्ध प्रयासमार्फत सम्पन्न हुन लागेको हो। “नेपालका हिमालदेखि तराईसम्मका सबै जातजाती र समुदायको पहिचान झल्काउने गरी तयारी गरिएको छ। २७ जना भन्दा बढी मोडलहरू स्टेजमार्फत प्रस्तुति दिनेछन्। साथै, कार्यक्रमपछि सबै सहभागीका लागि रात्रीभोजको पनि व्यवस्था गरिएको छ।” संयोजक सिंखडाले बताउनुभयो।
कार्यक्रमका प्रमुख इभेन्ट प्रेसिडेन्ट तथा निर्देशकका रूपमा नेपाली फेसन तथा फिल्म क्षेत्रमा बहुपरिचित नाम प्रशान्त ताम्राकारको नेतृत्व रहनेछ। नेपालका चर्चित अभिनेता, फेसन कोरियोग्राफर तथा निर्देशक समेत रहनुभएका ताम्राकारले कार्यक्रममार्फत नेपालको सम्पूर्ण फेसन र सांस्कृतिक विविधतालाई एउटै मञ्चबाट विश्वभर फैलाउने उद्देश्य राखिएको प्रस्ट पार्नुभयो। उहाँले भन्नुभयो, “यो कार्यक्रम केवल फेसन शो मात्र होइन, यो नेपाल र नेपालीपनको आवाज हो। हामी हाम्रो जरा, हाम्रो गौरव, हाम्रो मौलिकता लिएर विश्वकै फेसन हव न्युयोर्कमा छरिन गइरहेका छौँ।”
कार्यक्रमको तयारीमा न्युयोर्क तथा आसपासका नेपाली संघ–संस्था, कलाकार, स्वयंसेवक र उत्साही युवाहरूको सक्रियता उल्लेखनीय रहेको संयोजकहरूले जनाएका छन्।
यसैबीच आयोजक टोलिले सम्पूर्ण न्युयोर्कवासी नेपाली तथा नेपालीप्रेमी समुदायलाई हार्दिक निम्तो गर्दै, यस ऐतिहासिक र भव्य कार्यक्रममा सहभागी भई प्रवासबाट नेपाल चिनाउने स्वर्णिम अवसरको उपयोग गर्न आग्रह गरेका छन्। “हामी सबैको सानो प्रयासले यो कार्यक्रमले नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुर्याउनेछ। आउनुहोस्, हामी सबै मिलेर भव्य र सभ्य बनाऔं, यो ऐतिहासिक सांस्कृतिक क्षण।”
फेसन एक्सप्रेसन कार्यक्रमको तयारी अन्तर्गत भएका training sessions का तस्बिरहरू






