
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान, हैटी, इरान लगायत १२ देशका नागरिकहरूलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
जुन ९, २०२५ देखि लागू हुने यो आदेशअनुसार अफगानिस्तान, म्यानमार, चाड, कङ्गो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरू अब अमेरिका प्रवेश गर्न पाउने छैनन्। ट्रम्प प्रशासनले यो निर्णयलाई राष्ट्रिय सुरक्षासँग जोड्दै ती देशहरूबाट आउने व्यक्तिहरूको पृष्ठभूमि जाँचमा समस्या हुने र आतंकवादको सम्भावना बढी रहेको दाबी गरेको छ।
साथै, बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलामाथि आंशिक प्रतिबन्ध लगाइएको छ, जसअनुसार केही विशेष प्रकारका भिसाहरू मात्र जारी गरिने छन्। आदेशमा केही अपवादहरू पनि राखिएको छ — जस्तै अमेरिकी स्थायी बासिन्दा (ग्रीन कार्ड होल्डर), अमेरिकी सेनालाई सघाउने अफगानीहरू, कूटनीतिक कर्मचारी तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा सहभागी खेलाडीहरूलाई प्रवेश अनुमति हुनेछ।
यो निर्णयले अमेरिकी राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ। सांसद प्रमिला जयपाल लगायतका नेताहरूले यस कदमले कमजोर र द्वन्द्वग्रस्त राष्ट्रका सर्वसाधारणलाई नाजायज रूपमा असर पार्ने भन्दै विरोध जनाएका छन्। विश्लेषकहरूका अनुसार यो प्रतिबन्ध ट्रम्पको पहिलो कार्यकालमा लागू गरिएको विवादास्पद मुस्लिम-बहुल राष्ट्रहरूमा लगाइएको यात्रा प्रतिबन्धको निरन्तरता जस्तै हो।