
२७ असार, बुटवल — युनेस्कोले लुम्बिनीलाई विश्व सम्पदा खतराको सूचीमा नराख्ने निर्णय गरेको छ। पेरिसमा जारी युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४७औं सेसनले लुम्बिनीमा भइरहेका संरक्षण र सुधार कार्यका आधारमा यो निर्णय गरेको हो। लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईका अनुसार आगामी एक वर्षका लागि लुम्बिनी सुरक्षित सूचीकै हिस्सा रहनेछ।
यो निर्णय युनेस्कोका विज्ञ निकाय र अघिल्ला सिफारिसहरूका आधारमा आएको हो। सेसनको अध्यक्षता बुल्गेरियाका प्रोफेसर निकोले नेनोवले गरेका थिए। युनेस्कोले लुम्बिनीको अवस्थाबारे थप अध्ययन गर्न रिएक्टिभ मोनिटरिङ मिसन पठाउने निर्णय पनि गरेको छ। उक्त टोलीको प्रतिवेदनपछि भविष्यमा पुन: मूल्यांकन गरिनेछ।
यसअघि सन् २०२२ मा युनेस्कोको मिशनले दिएको प्रतिवेदनका आधारमा लुम्बिनीलाई सम्भावित खतराको सूचीमा राखिएको थियो। तर, सन् २०२३ मा भारतको सिफारिसपछि सूचीमा नराख्ने निर्णय भएको थियो। त्यसयता, नेपाल सरकारले संरक्षण, कानुनी स्पष्टता, र रणनीतिक कार्यक्रमहरूमार्फत युनेस्कोका मापदण्डअनुसार सुधारका काम अघि बढाएको हो।

यसैबीच, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाका अनुसार बुद्धले बाल्यकाल बिताएको कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम चरणको प्रक्रिया भइरहेको छ। तिलौराकोटलाई युनेस्कोले १९९६ मै सम्भावित सूचीमा राखेको थियो भने हालको ४७औं सेसनमा यसबारे चरणबद्ध छलफल भइरहेको कोषले जनाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, उपाध्यक्ष ल्हारक्याल लामा लगायतको टोली हाल पेरिसमा रहेका छन्। कोर क्षेत्र (core zone) १४० बिघा क्षेत्रफलमा फैलिएको तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ। साथै, गोटिहवा, निग्लिहवा, सिसनिया, अरौराकोट, कुदानजस्ता अन्य ऐतिहासिक स्थलहरू पनि विस्तारै विश्व सम्पदा सूचीमा समावेश गर्ने योजना बनाइएको छ।
तिलौराकोट दरबार क्षेत्र बुद्धभन्दा ३ सय वर्ष पुरानो संरचित शहरी सभ्यता भएको पुष्टि उत्खनन् तथा अनुसन्धानहरूले गरेका छन्। विश्व सम्पदामा सूचीकृत भएपछि यहाँको विकास गुरुयोजनाअनुसार अघि बढ्ने र यसले पर्यटन तथा स्थानीय आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
नेपालमा हालसम्म काठमाडौं उपत्यका र लुम्बिनी गरी दुई स्थान मात्र युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत छन्। तिलौराकोट समावेश भएसँगै बुद्धसँग सम्बन्धित ऐतिहासिक स्थलहरूको संरक्षण र प्रवर्द्धनमा थप सघाउ पुग्नेछ।